काठमाडौँ। प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गरेको छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिए।
अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उनले आग्रह गरे।
प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने बताउँदै उनले भने, “झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरु कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन ।’’