काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। उनले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिनेछन्।
त्यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।
त्यस्तै प्रधानमन्त्रीको प्रश्नोत्तर पछि सांसद डा.तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रूत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराउने छिन्।
त्यस्तै धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ। त्यसैगरी उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्नेछन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ भने उपप्रधान एवं अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्नेछन्।