उड्डयन क्षेत्र सुधार कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौँ  । उड्डयन क्षेत्रको पुनःसंरचना र पोखरा तथा भैरहवाका विमानस्थल व्यावसायिक सञ्चालनबारे पर्यटन मन्त्रालयले पेस गरेको कार्ययोजना सरकारले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्ययोजना अघि बढाउन सहमति दिएको हो ।

‘यी विषयबारेको विस्तृत कार्ययोजना हाम्रो हातमा परिसकेको भने छैन । तर कार्ययोजना अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ,’ सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने ।

२५ अर्ब ३४ करोड लागतमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ३५ अर्ब ६६ करोड लागतमा निर्माण भएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित छैन । सरकारले दुवै विमानस्थल सञ्चालन गर्न ‘विशेष प्रोत्साहन प्याकेजको व्यवस्था’ गरिने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गरेको थियो । त्यसपछि यी विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्नेबारे सुझाव दिन सरकारले नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बाबुराम पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

प्राधिकरणले कार्यदलको प्रतिवेदन गत असारमा पर्यटन मन्त्रालयलाई बुझाएको थियो । ‘दुई वटा विमानस्थल सञ्चालन गर्नेबारे सुझावसहित नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचनाबारे मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो,’ पर्यटनमन्त्री बद्री पाण्डेको सचिवालय स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको छ । अब कसरी कुन मोडलबाट गर्नेबारे केही दिनमा उच्चस्तरीय पदाधिकारीहरूले तय गर्नेछन् ।’

उनका अनुसार प्राधिकरणको समग्र संस्थागत अवस्था, आर्थिक दायित्व, प्राविधिक क्षमता, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्देश गरेका मापदण्डको परिपालनाको अवस्था, दक्ष कर्मचारीको दरबन्दी/अभावलगायत विषयमा उच्चस्तरीय कार्यदल बनाउने प्रस्ताव पठाइएको थियो । त्यसमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न विदेशी वायुसेवा कम्पनीलार्ई आकर्षित गर्नेबारे व्यावसायिक सहुलियतलगायत केही अवधारणा पनि सिफारिस गरिएका छन् ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै झन्डै ५० अर्ब रुपैयाँ होटल क्षेत्रमा लगानी भइसकेको छ । निजी क्षेत्रले केबलकार, रिसोर्ट, कृषि प्रशोधन उद्योगलगायतमा लगानी गरेका छन् । तर दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुनिश्चित भइसकेको छैन ।

प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार कुवेतबाट सिधा उडान भैरहवा थाल्ने पहिलो वायुसेवा जजिराले यतिबेला उडान गरेको छैन । २०८१ वैशाखसम्म जजिराले भैरहवामा १ सय १० वटा उडान गर्‍यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान मात्रै गरेर पुनः काठमाडौंमै फर्किएको छ । गत वर्ष जेठदेखि सातामा एक दिन (मंगलबार) नेपाल वायुसेवा निगमको मलेसियाको काठमाडौं आउने विमान भैरहवा हुँदै (टचडाउन गरेर) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने गरेको छ ।

पोखरा विमानस्थल प्रमुख नविना कर्माचार्यका अनुसार १७ महिनामा पोखरामा दुईतर्फी १४ वटा चार्टर उडान भए । प्राधिकरणका अनुसार, पोखराको ऋणको वार्षिक २ अर्ब साँवा तथा ब्याज प्राधिकरणले अबको तीन महिनापछि भुक्तानी तालिकाअनुसार बुझाउँदै जानुपर्नेछ । नेपाल सरकारमार्फत प्राधिकरणले वर्षमा दुई किस्ताका दरले ऋण १३ वर्षभित्र तिर्नुपर्ने सम्झौता छ । यता भैरहवाको प्राधिकरणले ७ अर्ब रुपैयाँ ऋणको २४ वर्षभित्र एसियाली विकास बैंकलगायतलाई वार्षिक ११ करोड ३० लाख रुपैयाँ साँवा तथा ब्याज ०७५ सालयता बुझाउँदै आएको छ ।

आर्थिक वर्ष ०७९/८० मा भैरहवाले वार्षिक २५ करोड र पोखराले २७ करोड रुपैयाँ जहाज तथा यात्रुको सेवा शुल्कबाफत आम्दानी गरेको थियो । ‘पोखराको वार्षिक सञ्चालन खर्च ५० करोड हाराहारी देखिन्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘भैरहवाको वार्षिक सञ्चालन खर्च पनि ५० करोड हाराहारी छ । त्यहाँ तीन वटा अन्तर्राष्ट्रिय उडान सुरु भए त्यो विमानस्थल सञ्चालन नाफामा जानेछ ।’

भैरहवामा दुई वर्ष महाप्रबन्धक भई एक महिनाअघि मात्रै प्राधिकरण मुख्यालयमा फर्केका उपमहानिर्देशक पाण्डेका अनुसार, नेपाल सरकारले ४२ वटा राष्ट्रसँग हवाई सम्झौता गरेको छ । तर ती मुलुकमा उडान गर्ने पर्याप्त नेपाली ध्वजावाहक वायुसेवा र वायुयान नहुँदा नियमित उडानमा ढिलाइ भइरहेको छ ।

‘हामीले धेरै मुलुकसँग सिधा हवाई सम्झौता काठमाडौंमा मात्रै केन्द्रित हुने गरी गरेकाले अब भैरहवा र पोखरालाई पनि हवाई सेवा सम्झौतामा मन्त्रालयले उल्लेख गर्नुपर्ने देखिन्छ,’ प्रवक्ता पाण्डेले भने, ‘दोस्रो कारण विदेशी वायुसेवाले काठमाडौंमै सेवासुविधा र बजार देखेकाले उनीहरू नेपाली वायुसेवाभन्दा अघि बाहिर जान चाहँदैनन् । त्यसैले उनीहरूलाई सेवा सुविधा दिई आश्वस्त पार्न सरकारले नीतिमै व्यवस्था गर्नुपर्छ ।’ ल्यान्डिङ, पार्किङ र रात्रि बिसानमा छुट दिएकाले अहिले भैरहवामा चार्टर उडानहरू भने फाट्टफुट गइरहेका छन् । ‘चार्टर उडानमा छुट भएकाले भैरहवा सञ्चालन भएयता ४१ वटा उडान भएको देखिन्छ,’ प्रवक्ता पाण्डेले भने ।

उनका अनुसार भैरहवामा प्रहरी, सशस्त्र प्रहरी, सेना, राष्ट्रिय अनुसन्धान, पशु/प्लान्ट क्वारेन्टाइन, भन्सार, अध्यागमन, श्रमलगायत उडानसँग सम्बन्धित निकायका कार्यालय स्थापना भइसकेका छन् । तर, पोखरामा भने सबै कार्यालय पुगिसकेका छैनन् । ‘पोखरामा सुरक्षा निकाय गइसकेको छ । अरू निकाय आवश्यक पर्दा (उडान हुने भए) काठमाडौंबाट जाने र फर्किने गरेका छन् ।’

त्रिभुवन विमानस्थलको वार्षिक यात्रु क्षमता ९० लाख हाराहारी हो । तर, यसले क्षमताभन्दा झन्डै ५० लाख बढी यात्रुलाई गत वर्ष सेवा दिएको तथ्यांक छ । यहाँको आधा यात्रु पोखरा र भैरहवामा पठाउने उद्देश्य थियो । भैरहवाको वार्षिक क्षमता ३० लाख र पोखराको १२ लाख यात्रु क्षमता छ ।

छुटाउनुभयो कि ?

TOP