काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले भोलि दिउँसो २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका छन्। प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
सरकारले तीन दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर अस्ति बिहीवार राजश्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ।
अध्यादेश प्रमाणीकरणसँगै बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलनसम्बन्धी काम अगाडि बढेको छ। बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगायतको काम ठप्प भएको थियो।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो।