बागलुङ । बागलुङको बडीगाड गाउँपालिका–१० मा मङ्गलबार बिहान पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदैछ।
गम्भीर घाइते ४६ वर्षीया संगीता बुढा, १९ वर्षीया रिमा पुन र ३१ वर्षीय सीता थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो। उनीहरूको काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा उपचार हुने बताइएको छ।
मौसम खराबीका कारण उपचारका लागि स्वास्थ्य संस्था पु¥याउन नसक्दा घाइतेलाई गाउँमै राखिएको र उनीहरूको जिल्लामा उपचार सम्भव नभए पछि हेलिकप्टरबाट काठमाडौं पठाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रशााद सुवदीले बताए।
उनका अनुसार बडीगाडको वडा नम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा पहिरोमा परी ८ जनाको मृत्यु भएको थियो। भने ४ जना बेपत्ता छन्। ९ जना घाइते भएकाका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। गम्भीर ३ जनालाई काठमाडौं पठाइएको र अन्य ६ जनालाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको उनले बताए।
पहिरोमा परी बेपत्ता ४ जनाको खोजीका लागि बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना खटिएको छ।