काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, आजदेखि मनसुन थप सक्रिय

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट मनसुन थप सक्रिय भएको छ।

महाशाखाले हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा रातिदेखि नै वर्षा भइरहेको बताएको छ। साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित छ। महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ।

सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। यस्तै आज राति देशभर साधारणतया बदली रहने छ।

महाशाखाका अनुसार सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहको छ। महाशाखाले सोमवार विशेष सूचना जारी गर्दै आजदेखि मनसनु थप सक्रिय हुने भएकाले देशका ३४ जिल्ला उच्च जोखिममा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

TOP