बागमतीमा बाढी, बल्खु क्षेत्रमा डुबान

काठमाडौं । काठमाडौं उपत्यकामा अविरल वर्षापछि बागमती नदीमा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचनाहरू डुबानमा परेका छन्।

बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ। बागमतीको बाढीले बल्खु तरकारी अगाडि राखिएको दुइवटा ट्रकसमेत पल्टिएर डुबेको छ।

विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ १३७ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांक छ । त्यसपछिको धेरै वर्षा सिन्धुपाल्चोकको मानेखर्कमा १२७ मिलिमिटर रेकर्ड भएको छ ।

काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ । विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ । त्यसपछिको धेरै वर्षा बुढानीलकण्ठमा ९०.४ मिलिमिटर रेकर्ड भएको छ ।

काठमाडौं उपत्यकाका अधिकांश वर्षा मापन केन्द्रहरुमा मध्यमदेखि भारी वर्षा भएकाले खोला तथा नदीहरुमा बाढीको सतह खतराको तहसम्म पुगेको छ । त्यसैले विभागले एसएमएस पठाएर र सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेर खोला किनारको बाटोमा यात्रा नगर्न र आज बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

छुटाउनुभयो कि ?

TOP