काठमाडौं । काठमाडौं महानगर भित्रै पोलियो थोपाको अभाव भएको छ । साउन १२ गतेसम्म चल्ने उक्त अभियान अन्तर्गत उपत्यकाका तीन वटै जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने गरि पोलियो अभियान थालिएकोमा पोलियो अभाव देखिएको हो ।
राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई साउन ९ गतेदेखि १२ गतेसम्म पोलियो खोप दिने निर्णय गरी खोप दिन सुरु गरेको थियो । तर आज साउन ११ गतेदेखि नै पोलियोको अभाव हुँदा पोलियो थोपा खुवाउने अभियान नै समस्यामा परेको छ ।
महानगरको स्वास्थ्य विभागले जिल्लासँग समयमै समन्वय नगर्दा पोलियोको स्थानीय तहमा पोलियोको अभाव देखिएको १६ नम्बर वडापालिकाका स्वास्थ्य विभागका कर्मचारीले बताएका छन् । स्थानीयहरु पोलियो खुवाउने स्थानमा आफ्ना बालबालिका लिएर गएको तर पोलियो नहुँदा कुरेर वस्नुपरेको जनगुनासो छ । विहानदेखि स्वायंसेवीकाहरु पोलियो थोपा खुवाउने स्थानमा पोलियो कुरेर बसिरहेका छन् ।
गत जेठ २३ गते दोभानबाट सङ्कलन गरिएको नमुनामा डिप्राइभ्ड पोलियो भाइरस–३ फेला परेको थियो।
नयाँ भाइरस देखिएपछि थप बालबालिकामा सम्भावित जोखिम हेरी सरकारले विश्व स्वास्थ्य सङ्गठन तथा अन्य निकायको सुझावलगत्तै उपत्यकाका बालबालिकालाई खोप दिने निर्णय गरिएको हो। जोखिम हेरेर पाँच वर्षमुनि उमेरका २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरिएको थियो । तर २ लाख ८० हजार बालबालिकालाई पुग्ने पोलियो पनि नहुनु स्वाथ्यका दृष्टिले ठुलो असुरक्षा हो । सरकारको ध्यान यता तत्काल जान जरुरी छ ।