काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले सांसदले गरेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। त्यसस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा पनि सदस्यहरूको नाम हेरफेर गर्नेछन्।
त्यसैगरी स्वास्थ्य तथ जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीहरूले मौखिक प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै सांसद प्रतिमा गौतमले ‘डेङ्गीको प्रकोप तीव्र रुपमा देशभर फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहोल उत्पन्न भएकोले डेङ्गीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनिकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले’ भन्ने विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।
उक्त प्रस्तावका समर्थक कुसुम देवी थापा, सपना राजभण्डारी, सिता मिाजर र लिलादेवी बोखिमले समर्थन गर्नेछिन्।