काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १ सय २८ जनाको मृत्यु भएको छ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय २८ जनाको मृत्यु भएको हो।
साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४३ जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।
बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन्। २ सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५ सय ८९ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय ७९ घर परिवार विस्थापित भएका छन्।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।