वैज्ञानिक समाजसवादको आवश्यकता किन ?

वैज्ञानिक समाजवादको घोषणापत्रको दोस्रो अध्यायमा वैज्ञानिक समाजवाद निर्माण अभियानको आवश्यकता किन परेको हो भन्नेबारे यसरी विश्लेषण गरिएको छ ।

अभियानको आवश्यकता

विश्वमा क्रान्तिका तीन विकल्पहरु छन्– पूँजीवादी क्रान्ति, नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति । सामन्तवादी समाजलाई पूँजीवादी समाजमा रुपान्तरण गर्ने क्रान्ति पूँजीवादी क्रान्ति हो । आधुनिक युगको शुरुवात भएपछि यो क्रान्तिको लहर विश्वभरि चल्यो । पहिलो पूँजीवादी क्रान्ति सन् १५७६ मा नेदरल्याण्डमा भयो । दोस्रो पूँजीवादी क्रान्ति सन् १६४९ मा बेलायतमा भयो र तेस्रो पूँजीवादी क्रान्ति सन् १७८९मा फ्रान्समा भयो । यी क्रान्तिहरु सम्पन्न भएपछि विश्वमा पूँजीवादी व्यवस्था स्थापित भयो ।

पूँजीवादी समाजलाई समाजवादी समाजमा रुपान्तरण गर्ने क्रान्ति समाजवादी क्रान्ति हो । पहिलो समाजवादी क्रान्ति सन् १८७१ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो । दोस्रो समाजवादी क्रान्ति सन् १९१७ मा रुसमा भएको थियो । रुसमा भएको समाजवादी क्रान्तिको लहर विश्वभरि पैmलियो । परिणामस्वरुप युगोस्लाभिया, अल्बानिया, हंगेरी, बुल्गेरिया, पोल्याण्ड, चेकोस्लाभिया, रोमानिया, पूर्वी जर्मनी, उत्तर कोरिया, भियतनाम, क्युबा, आदि विश्वका धेरै देशहरुमा समाजवादको स्थापना भयो ।

अर्ध–सामन्ती र अर्ध–उपनिवेशी समाजलाई नयाँ जनवादी समाजमा रुपान्तरण गर्ने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । यो क्रान्ति सन् १९४९ मा चीनमा सम्पन्न भएको थियो । त्यसपछि यो क्रान्तिको लहर पनि विश्वभरि पैmलियो । भारतको नक्सलवाडी आन्दोलन, पेरुको साइनिङ्ग पाथ, नेपालको झापा विद्रोह, दशवर्षे जनयुद्ध, आदि नयाँ जनवादी क्रान्तिको कार्यदिशामा सञ्चालन भएका थिए ।

तर अब क्रान्तिका यी तीन विकल्पहरुमध्ये कुनै पनि विकल्पबाट सामाजिक रुपान्तरण सम्भव देखिँदैन । पूँजीवादी क्रान्ति आफ्नो प्रारम्भिक चरणमा अत्यन्तै प्रगतिशील थियो । तर पछि साम्राज्यवादी चरणमा यो क्रमशः प्रभावहीन हुनथाल्यो । वर्तमान युगमा पूँजीवादी क्रान्तिबाट समाजको रुपान्तरण हुनसकेको छैन । विकसित पूँजीवादी देशहरुमा पुरानो मोडलको समाजवादी क्रान्ति पनि हुनसकेको छैन । त्यसैगरी नयाँ जन वादी क्रान्ति सन् १९४९ मा चीनमा भएपछि अन्त कतै भएको छैन ।

नेपालमा पूँजीवादी क्रान्तिको लागि तीनवटा प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरु २००७ सालमा, २०४६ सालमा र २०६२–६३ मा भएका थिए । तर केही आंशिक उपलब्धिहरुको बावजुद तिनीहरु असफल भए । पहिलो प्रयत्नबाट निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएको थियो । दोस्रो प्रयत्नबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भएको थियो । तेस्रो प्रयत्नबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यी आंशिक सफलताहरु थिए । तर यी सवै प्रयत्नहरुबाट मूल लक्ष्य प्राप्त हुनसकेन । त्यो हो– पूँजीवादी व्यवस्थाको स्थापना र विकास ।

त्यसैगरी नयाँ जनवादी क्रान्तिको लागि पनि तीनवटा प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरुमध्ये पहिलो २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको कार्यंक्रम अगाडि सारेर गएिको थियो । दोस्रो प्रयत्न नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वमा बहुदलीय जनवादको कार्यक्रम अगाडि सारेर गरिएको थियो । तेस्रो प्रयत्न नेपाल कम्यनिस्ट पार्टी माओवादीको नेतृत्वमा सशस्त्र जनयुद्धको कार्यक्रम अगाडि सारेर गरिएको थियो । तिनीहरुबाट केही आंशिक उपलब्धिहरु भए, तर मूल लक्ष्य प्राप्त हुन सकेन । त्यो हो– नयाँ जनवादको स्थापना र विकास ।
त्यसकारण अब क्रान्तिको नयाँ विकल्प खोज्नु र निर्माण गर्नु आवश्यक छ ।

अब विश्वमा क्रान्तिको नयाँ विकल्प वैज्ञानिक समाजवादी क्रान्ति हो । यो क्रान्ति सम्पन्न गर्नको लागि भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित विश्वका सम्पूर्ण वर्गहरुलाई संगठित गर्न र मार्गदर्शन गर्न एउटा विश्वव्यापी अभियानको आवश्यकता छ । यही अभियान ‘वैज्ञानिक समाजवाद निर्माण अभियान’ हो ।

छुटाउनुभयो कि ?

TOP