युरोकप २०२४ फाइनल आज राति : स्पेन र इंग्ल्याण्ड इतिहास रच्ने लक्ष्यमा

काठमाडौं । मिनी विश्वकपको रुपमा रहेको युरो २०२४ को फाइनल खेल आज राति हुँदैछ । फाइनल खेल मध्यराति १२:४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

२४ टोलीले सुरु गरेको यात्रामा अब स्पेन र इंग्ल्याण्ड दुई टोलीमात्र उपाधि होडमा छन् । यी दुई मध्ये एकले जर्मनीको बर्लिनमा युरोको ट्रफी उचाल्ने छ ।

उपाधि दाबेदारकै रुपमा दुई टोली फाइनल पुगेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्पेनले सेमिफाइनलमा बलियो डिफेन्स भएको फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर फाइनल भेट पक्का गरेका हुन् ।

इङ्ल्यान्ड र स्पेनले युरो कप फाइनलमा पुग्न निकै फरक ‘रुट’ समातेका छन्। स्पेन सबैभन्दा आकर्षक मात्र होइन, आफूले खेलेका हरेक खेल जित्दै एक बलियो टोली बनेर उदाएको छ। यो टोलीले के मात्रै गरेको छैन? युरो कपमा समर्थकलाई मनोरञ्जन दिन सबैथोक गरेको छ।

विपक्षी टोलीको रणनीतिलाई बुझेर आक्रामक फुटबल पस्किएको छ। चार मिनेटमै दुई गोल गर्दै सानदार पुनरागमन गर्न यो टोली सफल भएको छ। त्यसैले त क्रोएसिया, इटाली, आयोजक जर्मनी र फ्रान्सजस्ता प्रबल दाबेदार मानिएका टोलीविरुद्ध दबदबा कायम गर्दै स्पेन कीर्तिमानी चौथोपल्ट उपाधिनजिक पुगेको छ। यसको विपरीत छ।

इङ्ल्यान्ड विदेशी भूमिमा पहिलोपल्ट फाइनलमा पुगेको यो टोलीले बर्लिनसम्मको यात्रा तय गर्न निक्कै संघर्ष गर्नुपरेको छ। प्रिमियर लिगले दिएको थकानका कारण टोलीका खेलाडी निक्कै सुस्त देखिएका छन्। प्रायः खेलमा यो टोलीले ढिलो गोल निकालेको छ। त्यसैले यो टोलीको खेलमा कुनै रोमाञ्चकता पाइँदैन। तर, यति हुँदा पनि यो टोली आफूलाई उत्कृष्ट दाबी गर्न पछि पर्दैन।

यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्ने छ । स्पेनले जर्मनीसँगै अहिलेसम्म सर्वाधिक ३ पटक उपाधि जितेको छ र चौथो पटक जित्ने लक्ष्यमा छ । यदि स्पेन विजयी भएमा युरो चार पटक जित्ने पहिलो टोली बन्नेछ र सर्वाधिक सफल टोली बन्नेछ ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमै उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार उपाधि जितेको थियो । युरो लगातार जित्दा स्पेनले सन् २०१० मा फिफा विश्वकप समेत जितेको थियो ।

इंग्ल्याण्डले भने अहिलेसम्म युरो उपाधि जित्न सकेको छैन । पछिल्लो पटक सन् २०२० को युरोमा फाइनल पुगे पनि इंग्ल्याण्ड घरेलु मैदान वेम्बलीमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो फाइनल खेल्दैछ । इंग्ल्याण्ड विजयी भएमा पहिलो पटक युरो च्याम्पियन बन्नेछ । त्यसका लागि इंग्ल्याण्डले घर बाहिर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई हराउनुपर्नेछ ।

इंग्ल्याण्डले अहिलेसम्म जितेको एक मात्र ठूलो उपाधि सन् १९६६ को फिफा विश्वकप हो र त्यो पनि घरेलु मैदानमा जितेको थियो ।

स्पेन र इंग्ल्याण्ड एकआपसमा भिड्दा केही खेलाडीमाथि नजर रहनेछ । जो व्यक्तिगत अवार्डको होडमा पनि छन् । इंग्ल्याण्डका कप्तान ह्यारी केन र स्पेनका डाद्दी ओल्मो सर्वाधिक गोलकर्ता बन्ने होडमा छन् । दुवैले समान ३ गोल गरेका छन् । फाइनलमा गोल गर्ने खेलाडी सर्वाधिक गोलकर्ताको दाबेदार बन्नेछ ।

यस्तै उत्कृष्ट खेलाडी बन्ने दौडमा स्पेनका रोड्रि र इंग्ल्याण्डका जुड बेलिङघम छन् ।

छुटाउनुभयो कि ?

TOP