भरतपुर । चितवन भरतपुरमा सुक्रबार देखि त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको दुई बस खसेको थियो।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खटिएको बताए। ‘नदीमा पानीको बहाव घटेको छैन। राति जोखिम हुने भएकाले खोजीकार्य स्थगन गरेका हौँ, आज बिहानैदेखि पुनः खोजीकार्य अघि बढाएका छौँ’, उनले भने। यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ।