काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०७९ श्रावण–२०८० अषाढ पेश गर्नेछन्।
त्यस्तै आजको बैठकमा अर्थ मन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।