सुनसरी । सप्तकोशी नदीमा दुई दिनदेखिको अविरल वर्षाको कारण पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार पानीको बहाव अत्यधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो ।
कोशी नदीमा तीन लाख ६८ हजार ६८० क्युसेक जलसतह मापन गरिएको कोशी नदी नियन्त्रण मापन केन्द्रका कर्मचारीले बताए।
कर्मचारीको अनुसार नदीमा पानीले खतराको तह पार गरेसँगै रेड अलर्ट जारी गरिएको र सबैलाई सुरक्षित स्थानमा जान अनि सावधानी अपनाउन भनिएको बताए।
ब्यारेज प्रशासनले अधिकत्तम खतराको सूचना जारी गर्दै कोशी ब्यारेजमा रातो झण्डा राखिएको छ।
पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा निरन्तर जलसतह बढिरहेको छ। जलसतह उच्च भएपछि रातिदेखि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ।