काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।
कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सातबुँदे सहमति अनुमोदन गरिसकेकाले संसदीय दलको निर्णय औपचारिकता मात्र थियो । तर कांग्रेसले नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार बनाउने आफ्नो अडान स्पष्ट पार्दै माओवादी र एमाले मात्र होइन, राष्ट्रपति कार्यालय शीतल निवासलाई पनि सन्देश दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले २८ गते संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको कांग्रेसले त्यसको कारणबारे निर्णयमा लेखेको छ, ‘नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको हुँदा।
कांग्रेसका एक पदाधिकारीका अनुसार संसदीय दलको निर्णयमा सोचीविचारी संविधानको धारा ७६(२) अनुसार ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने उल्लेख गरिएको हो ।
संसदका दुई ठूला दल कांग्रेस (८८ सिट) र एमाले (७९ सिट) बीच १७ असारको मध्यरातमा नयाँ सरकार बनाउने सहमति भएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । १६७ सांसद भएका दुई ठूला दलले नयाँ सरकार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्ड स्वतः अल्पमतमा परेका छन् ।