‘भिजिट नेपाल–२०२५’ मनाउने चिनको निर्णय

काठमाडौँ । चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले यस्तो जानकारी दिएक हुन् ।

सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरिएको उनको भनाइ छ ।

नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने उपविदेशमन्त्री सुनले प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुन उपविदेशमन्त्री सुन सोमबार नेपाल आएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री र राजदूतबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको छ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए । आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको र त्यसलाई सफल तुल्याउन चीनको सहयोग आवश्यक पर्ने प्रधानमन्त्री दाहालले बताएको सापकोटाको भनाइ छ ।

छुटाउनुभयो कि ?

TOP