भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको नाउबारी स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा विद्यर्थी भर्ना ह्वत्तै बढेको छ । २०७५ सम्म दुई यस विद्यार्थी मत्रै भएको यस विद्यालयमा अहिले लगभग सात यस विद्यार्थी पुगिसकेको छ ।
कसरी बढ्यो विद्यार्थी ?
प्रधानाध्यापकको जिम्मेवारी पाएपछि शिक्षक सोम श्रेष्ठले पहिला आफ्नै बच्चाको भर्ना गराए । प्रअले आफ्नो बच्चा भर्ना गराउने वित्तिकै लेखापाल शिक्षक राजन ठकुरीले भक्तपुरकै नाम चलेको निजी स्कुलमा पढिरहेका छोरालाई निकालेर आफूले काम गर्ने यसै विद्यालयमा भर्ना गराए ।
विद्यालय र ठकुरीको घरको दूरी करिब ५ किलोमिटर फरक भए पनि उनले परिवारका सदस्यलाई आफू काम गर्ने विद्यालयमै राम्रो पढाइ गराउने ग्यारेण्टी दिएर भर्ना गरेका थिए । त्योभन्दा अघि विद्यालयले विद्यार्थी संख्या बढाउनका लागि पटकपटक घरदैलो गर्दा पनि स्थानीय अभिभावकले विद्यालयप्रति विश्वास नगरेपछि प्रधानाध्यापक श्रेष्ठ र लेखापाल ठकुरीले त्यो आँट गरेका थिए । उनीहरुको ‘त्यो आँट’ ले साँच्चै विद्यालयप्रति अभिभावको विश्वास बढ्न थाल्यो र विद्यालयमा पहिलो वर्ष नै एक सय विद्यार्थी थपियो । अरु शिक्षकहरुले पनि आफ्ना छोराछोरी यस विद्यालयमा भर्ना गर्न ल्याए ।
शिक्षकहरुकै छोराछोरी पढ्न थाले पनि पढाइ पनि पहिला भन्दा राम्रो भयो । शिक्षकहरुलेले सुरु गरेपछि अभिभावकले पनि चोक चोकमा र बेलामौकामा त्यहाँको हेडसर र शिक्षकका सन्तान त त्यहीँ पढेका छन्, नराम्रो पढाइ हुने भए, त्यहाँ पढाउँछन् र ? भनी कुरा गर्न थाले । त्यसपछि झनै विद्यार्थी संख्य बढ्न थाल्यो ।
शैक्षिक सत्र २०७६ मा २९८ जना विद्यार्थी रहेको सो विद्यालयमा शैक्षिक सत्र २०७७ मा ३७५ जना, २०७८ मा ४१७ जना, २०७९ मा ५४९ जना पुगेको थियो । चालू शैक्षिक सत्र २०८० को बैशाख १८ गतेसम्म विद्यालयमा ६ सय १५ जना विद्यार्थी पुग्यो ।
अहिले विद्यालयमा अध्यापनरत ४२ जना शिक्षकमध्ये १९ जना शिक्षकका सन्तान आँफैले पढाउने विद्यालयमा पढिरहेका छन् । अब क्रमशः शिक्षकहरुमा आफ्ना सन्तानलाई पनि आफूले पढाउने विद्यालयमै पढाउँदा राम्रो हुन्छ भन्ने भावना बढ्न थालेको छ ।
वि.सं। २०१५ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समयमा शिक्षामा फड्को मार्दै गएको छ । विद्यालयको असल शैक्षिक अभ्यासका कारण विद्यालयले २०७८ सालको एसइईमा औसत २.७८ जिपिए हासिल गरी चाँगुनारायण नगरपालिकामा उत्कृष्ट तीन भित्रको विद्यालयमा परेको थियो ।