काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो ।
बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठुलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।
“बागमती प्रदेशमा मनसुन सक्रिय हुन थालेको ठुलो पानी आएर मेलम्ची नदीको पानीको बहाव बढ्न सक्ने र आयोजनामा क्षति हुनसक्ने जोखिम कम गर्न आजदेखि सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेका थियौँ”, उनले भने, “आजको अवस्था हेर्दा नदीमा पानीको बहाव बढेको छैन, नदी पनि सफा छ । तत्काल आयोजना बन्द गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाउने छौँ ।”
लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । “हामीले पटक पटक मेलम्ची बन्द गर्ने तयारी गरेका पनि हालसम्म सञ्चालन गरिरहेका छौँ”, उनले भने, “उपत्यकामा मेलम्चीको पानी पठाउन कहिलेदेखि आयोजना बन्द गर्ने भनेर यकिन दिन तोक्दैनौँ, जहिले ठुलो वर्षा भएर जोखिमको खतरा बढ्छ, तत्काल बन्द गर्नेछौँ ।”
समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ । मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ ।