Advertisement

कर्मचारीको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सेवा सुविधा माग गर्दै कर्मचारीहरूले गत जेठ २१ गतेदेखि आन्दोलन जारी राखेका छन्। यस क्रममा बुधबार अपराह्न ५ बजेपछि प्रत्यक्ष प्रसारणमा सभामुख देवराज घिमिरेलाई मात्रै देखाइएको थियो, तर बोलेका सांसदहरूलाई देखाइएको थिएन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नहरूको जवाफ दिएपछि, सांसदहरूले पुरक प्रश्न सोध्न थालेका थिए। तर, प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबमा प्रत्यक्ष प्रसारण गर्दा सांसदहरूले विरोध जनाए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘ब्ल्याक आउट’ को विरोध गर्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए र ब्ल्याक आउटमा सदन नचलाउन भनेका थिए।

यसपछि सभामुख घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरेका छन्।

छुटाउनुभयो कि ?

TOP