‘सरी बाऊ, मैले तपाईको चाहना पूरा गर्न सकिनँ’

 

 हर्क साङ्पाङ, मेयर
धरान उपमहानगरपालिका

हर्क साङ्पाङ आफू जन्मेको पुरानो घरको तस्वीर राखेर आफ्नो बाबालाई सम्झदै फेसबुक वालमा लेख्छन्ः

न बाऊ रहे न बाऊले बनाउनु भाको यो घर अब । सम्झदा छाती भित्र गहीरो गरी चस्स दुख्छ । सम्झनामा मात्रै छ यो घर । टिनको छाना भएको सानो घरले रिप्लेस गरेको छ यसलाई । यही ठुलो चाहिँ घरको जस्केला छेऊको खोर्सानीको बोट निर जन्मेको थें रे म बाहिरै । म जन्मदा आमा मूछिर्त हुनु भाथ्यो रे । खोटाङ जिल्ला साबिक खार्तम्छा ९ चोखाने पुछारमा रहेको यही घरमा मेरो बाल्यकाल बितेको थियो । शिक्षा, रोजगारी र विदेश अनि शहरको मोहले धेरै बर्ष अन्यत्रै भुलेर गाउँ फर्कंदा जीर्ण अवस्थामा यो घरलाई देख्दा मन रोएको थियो । यो घर एउटा सपना थियो, मेरो बाऊको सपना । सानैदेखि असाध्यै चक्चके र अटेरी थिएछु । त्यसैले होला बाऊको कुटाइ धेरै खाएँ मैले । त्यतिखेर लाग्थ्यो बाऊले मलाई माया नगर्दो रैछ । तर अहिले सम्झदा छोरोलाई साइज र सेपमा ल्याउनलाई कुमालेले मुङ्ग्रो चलाएर माटोलाई मटका बनाए जस्तो मुङ्ग्रो चलाउनु भएको रैछ । घरमा धेरै रात बास बसिएन पनि । छिमेकीकोमा सुतियो । कारण बाऊको कुटाइ । घरको कान्छो छोरो म । दाजुहरु सबै बिदेश । यही घर थामी खान्छ कि भनेर बाऊको ठुलो आशा थियो म माथि । तर एस. एल. सी. गरेपछि पढ्नलाई धरान झरेको दिन आँगनमा बाऊ भक्कानिएर रोएको हिजो जस्तो लाग्छ ।

‘सरी बाऊ मैले तपाईको चाहना पूरा गर्न सकिनँ ।’ तपाईले जोडिदिनु भएको सम्पत्तिको मैले कदर नगरेको होइन । मेरो भाग्यले लेखान्तले मलाई अन्तै डोहोराएको छ । बेथिति र भ्रष्टाचारले देश थिल्थिलो भएको कारण यो सोझो सिधा चोखाने गाउँमा जन्मिएको एउटा ठिटो यो, देश बिगार्ने ठुला ठुला शक्ति सङ्ग लड्न निस्केको छु । म कहिल्यै हार मान्ने छैन । अब म त्यो गाउँको मात्रै नभएर देशै भरिको गाउँको मुद्दा उठाउनेछु । म तपाईको मात्रै नभएर तपाइँ जस्तै लाखौँ बाऊहरुको आशाको केन्द्र बन्ने कोशिस गर्दैछु । मैले शहर हिँडेको दिन, गाउँ छोडेको दिन, तपाईको आँशु पुछ्न सकिनँ । तर सबैको आँशु पुछ्ने व्यक्ति बनेर देखाउने छु म एक दिन । तपाई जहाँं भए पनि मलाई आशिष दिइरहनु । म अघि बढिरहनेछु । आज म जे छु, जो छु र जो हुँ त्यो तपाइँले नै बनाउनु भएको हो । म तपाई कै अंश हुँ । म तपाई कै छोरा हुँ । यो जूनिमा अब मैले कहिल्यै पनि तपाईको कुटाइ खान पाउँदिन । आएर मलाई एक चोटि कुटि दिनु न । एक चोटि मेरो कान निमोठी दिनु न प्लिज । म तपाईको छोरो हुँ । कहिल्यै छ्लेर, दलेर, अन्याय गरेर, चोरेर भ्रष्टाचार गरेर खाँदिन । म तपाइँ कै छोरो हुँ । मेरो बाबा तिल बिक्रम राईको स्मृतिमा २०८१।३।१ ।

छुटाउनुभयो कि ?

TOP