दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।

शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा ११६ रनको विजयी लक्ष पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो। र इतिहास रच्नबाट चुक्यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे। नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे। उनले एक चौका र एक छक्का प्रहार गरे।

कप्तान रोहित पौडेल शून्यमा बोल्ड आउट भए। दीपेन्द्र ६ रनमा आउट भए। कुशल मल्ल १, सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए।

बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्शी ४ विकेट एनरिच नोर्त्जे र ऐडेन मक्रमले १/१ विकेट लिए।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । नेपालको उत्कृष्ट स्पिन बलिङ आक्रामण सामु दक्षिण अफ्रिकाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

छुटाउनुभयो कि ?

TOP