विराटनगर । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ।
पहिरो स्थल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा घाइते भएकी ३ बर्षिया बालिकालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ पठाइएको छ।
मृत्यु हुनेमा ७0 वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए ।
बिहीबार मात्र यहाँ पहिरो तथा बाढीले पुल,ग्रामीण सडक र नदी तथा खोला तटिय क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार बगाएको थियो। पानी पर्ने क्रम जारी रहेकोले सतर्क रहन भन्दै जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सावधानीका लागि सबैलाई आग्रह गरेका छन्।