काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।
भेटकोअवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उनीबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथ ग्रहणपछि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।
सो भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।