पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री पाण्डेले आज अपरान्ह ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।
विश्वासको मत लिनुअघि कांग्रेसका सांसदलाई पोखराको एक सुविधा सम्पन्न रिसोर्टमा राखिएको छ भने मुख्यमन्त्री पाण्डेले राप्रपा र अन्य सांसदसँग पनि त्यहींबाट संवाद गरिरहेका छन् ।
गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ, तर कांग्रेससँग २७ सिट मात्रै छ। कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिँदैन।
गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन्। गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आशा गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका सांसद र अध्यक्ष डा. बाबुराम भट्टराई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)सँग काठमाडौंमा विश्वासको मतबारे सहमति गरेर मुख्यमन्त्री पाण्डे पोखरा फर्केको नेताहरुको दाबी छ ।