काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीका आरोपी जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो ? भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् । सहकारी ठगीविरुद्धको कारबाही र गृहमन्त्रीमाथि छानबिनको माग राखेर आइतबार राजधानीमा भएको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा एमाले अध्यक्ष केपी ओलीप्रति बढी आक्रामक भएका थिए । ‘यो सहकारी गठबन्धनभित्र प्रधानमन्त्रीको दुःख बडो गज्जबको छ । गृहमन्त्रीजी जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो भन्नुहुन्छ । के यही सत्य हो प्रधानमन्त्रीज्यू ? के जीबी राईलाई प्रचण्डले र नारायणकाजीले भगाउनुभएको हो ?,’ शर्माले भने, ‘तपाईं प्रधानमन्त्री त हुनुहुन्छ तर रेशमी पिँजडाभित्र बसिरहेको देख्छु ।’
शर्माले रविलाई छानबिनको दायरामा ल्याउने गरी संसदीय छानबिन समिति बन्न नदिनुमा एमाले अध्यक्ष ओलीका मुख्य चार उद्देश्य रहेको बताए । ‘पहिलो कारण रास्वपासँग गणित छ । त्यो गणितले अहिलेको सरकार बनाउन र टिकाउनका लागि आवश्यक देख्नुहुन्छ। यहाँ लोकतन्त्र होइन, संख्यातन्त्रको प्रश्न छ,’ शर्माले भने, ‘त्यसैले लामिछानेजीको दोषी ठहरिने खालको छानबिन समिति बनाउन ओली तयार देखिनु भएन ।’ त्यसैगरी उनले गृहमन्त्रीलाई जोगाउने बहानामा सहकारीको अपचलनमा जोडिएका धेरै नेता तथा कार्यकर्तालाई जोगाउनु अर्को कारण रहेको उल्लेख गरे । ‘लामिछाने देखिएका पात्र हुन् । नदेखिएका थुप्रै पात्र सहकारी सञ्चालन गरिरहेका, बचत अपचलन गरेका एमालेका थुप्रै हुनुहुन्छ । ती सबैलाई जोगाउन ओलीजी चाहनुहुन्छ,’ शर्माले भने, ‘दोष र गालीजति रविको भागमा छाडिदिएर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको रक्षा गर्न चाहनुहुन्छ ।’
शर्माले गिरीबन्धु टी इस्टेट प्रकरणमा रविको साथ लिएर सहकारी ठगीमा बचाउने उद्देश्य तेस्रो कारण रहेको उल्लेख गरे । ‘चौथो कारण, मिसन ८४ घोषणा गरेका एमाले र रास्वपा पार्टी हुन् । ओली नयाँ दल नयाँ ऊर्जाका साथ आएकाले तिनलाई कमजोरीको दलदलमा फसाउने, यसरी नै खुइल्याउँदै ०८४ सम्म पुग्दा उभिनै नसक्ने ठाउँमा पुर्याउने लक्ष्य मैले देखिरहेको छु,’ शर्माले भने । उनले बतासे प्रकारको छानबिन समितिको पक्षमा कांग्रेस नरहने बताए । महामन्त्री शर्माले सदनमा मात्रै नभई सिंहदरबार र बालुवाटार घेर्नसमेत कांग्रेस पछि नपर्ने भन्दै लामिछानेमाथि नै छानबिन केन्द्रित हुने गरी संसदीय समिति बन्नुपर्ने अडानमा कांग्रेसको रहेको बताए । ‘अब नाम लेखेरै समिति बनाउनुपर्छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनैपर्छ,’ शर्माले थपे, ‘यो एउटा गृहमन्त्रीमाथिको मात्र प्रश्न होइन, यसले ७६ लाख पीडितको प्रश्नको जवाफ दिन्छ ।’