काठमाडौँ । सहकारी बचत अपचलन र दोहोरो राहदानीमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले आइतबार राजधानीमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत अपचलन र ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न भएको तथ्य सार्वजनिक हुँदा पनि उनलाई छानबिनको दायरामा ल्याउनुको साटो सञ्चारमाध्यमकै मुख थुन्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरिएको भन्दै कांग्रेसले लामिछानेमाथि पनि दुई देशको राहदानी लिएको कसुरमा छानबिन हुनुपर्ने माग उठाएको छ ।
सरकारको विरोधमा कांग्रेसद्वारा आइतबार काठमाडौंस्थित प्रदर्शनी मार्गमा निकालिएको र्याली भृकुटीमण्डपमा पुगेर विरोध प्रदर्शन र खुला सभामा परिणत भएको थियो ।
लामिछाने गृहमन्त्री भएपछि सहकारीमाथिका अनुसन्धान र छानबिन रोकेर आफूविरुद्धका प्रमाण नष्ट गर्न लागेको भन्दै कांग्रेसले साढे दुई महिनादेखि संसदीय छानबिन समिति गठनको माग राखेर संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको छ । लामिछानेलाई छानबिनको दायराबाहिर राख्ने उद्देश्यका साथ सत्तापक्षले नाम मात्रको समिति बनाउन खोजेको भन्दै कांग्रेसले यस मुद्दालाई आम नागरिकमा पुर्याउन सडकमा उत्रेको बताएको हो ।