दाङ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीलाई बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन असार ५ गते नै आग्रह गरेका थिए। तर चौधरीले राजीनामा दिएका थिएनन्।
कृषकका लागि अनुदानमा वितरण गरिएको पावर टिलर (जोत्ने हाते ट्र्याक्टर) का विषयमा लेनदेन गरेको आरोप मन्त्री चौधरीमाथि लागेको थियो।
सोही कारण चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले आग्रह गरेका थिए।
मुख्यमन्त्रीका प्रेस संयोजक डम्बरबहादुर बमका अनुसार विवादित छवि सार्वजनिक भएकाले असहज महसुस गरिएकाले मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई बिहीबार पदबाट बर्खास्त गरेका हुन्।
सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वमा नेकपा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार थियो।
यो प्रदेशमा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन्। नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई असर पर्ने देखिँदैन।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद भए पुग्छ। कांग्रेस र एमाले मात्रै भए पनि २९ सांसद पुग्छन्।