काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले एडीबीको ऋण नलिने घोषणा गरेका छन् ।

खानेपानी मन्त्रालयलाई पत्र लेख्दै यसअघि एडीबीबाट लिएको ऋण तिर्न बाँकी रहेकोले फेरि एडीबीको ऋण धरान उपमहानगरले नलिने मेयर साम्पाङले घोषणा गरेका हुन्।

‘… कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटी मन्त्रालय धाएको स्मरण गराउँदै आव २०८२/८३ मा ४ करोड रुपैयाँ नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो तर बाँकी पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारि बोकाएर उचित हुँदैन । धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँदछु,’ मेयर साम्पाङले मन्त्रालयलाई पठाएको पत्रमा छ्।