काठमाडौँ । सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकामा अन्तर्राष्ट्रिय मिडिया समुदायले गम्भीर चासो व्यक्त गर्दै रिहाइको माग गरेका छन् ।
पत्रकारहरूको विश्वकै ठूलो संगठन इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट (आईएफजे), विश्वभर प्रेस स्वतन्त्रताबारे प्रतिवेदन तयार गर्ने रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ), अमेरिकाको सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे), ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र इन्टरनेसनल प्रेस इन्स्टिच्युट (आईपीआई) नेपाल च्याप्टरले सिरोहियाको तत्काल रिहाइको माग गरेका छन् ।
नेपालस्थित अमेरिकी दूतावासले पनि सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्न नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ ।
आईएफजेले अध्यक्ष सिरोहियाको गिरफ्तारी गम्भीर चिन्ताको विषय भएको बताएको छ । ‘गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा लामिछानेले सहकारी कोषको बचतमा करोडौं नेपाली रुपैयाँ हिनामिना गरेको आरोपको विस्तृत रिपोर्टको शृंखलापछि अध्यक्षको गिरफ्तारी भएको हो,’ आईएफजेद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । व्यक्तिगत वा राजनीतिक कारणले पत्रकार र सञ्चारकर्मीविरुद्धको अनुसन्धानलाई सूचित गर्न नसकिने र अधिकारीहरूले प्रेस स्वतन्त्रताप्रति नेपालको प्रतिबद्धतालाई सुनिश्चित गर्नॅपर्ने आईएफजेको धारणा छ ।
यस्तै, आरएसएफले अध्यक्ष सिरोहियालाई हिरातसमा राख्नु दुर्व्यवहार भएको जनाएको छ । ‘ठगी र हिनामिनामा गृह मन्त्रालयको संलग्नताको अनुसन्धान गरेको बदलास्वरूप कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर दुई दिनदेखि हिरासतमा राखिएको छ । उहाँलाई रिहा गर्नॅपर्छ र केएमजीको काममा कुनै पनि बाधा पुग्नुहुन्न,’ आरएसएफले सामाजिक सञ्जाल एक्समा भनेको छ ।
एसपीजेले सिरोहियामाथि नेपाल सरकारले निष्पक्ष रूपमा छानबिन गर्ने आशा गरेको जनाएको छ । एसपीजेकी अध्यक्ष असान्टी ब्लेज हप्किन्सले एक वक्तव्य जारी गर्दै अध्यक्ष सिरोहियालाई रिहा गर्न माग गर्दै स्वतन्त्र र निर्बाध प्रेसप्रतिको प्रतिबद्धतामा सरकारलाई अडिग रहन आग्रह गरेकी छन् । ‘शृंखलाबद्ध रूपमा गृहमन्त्रीमाथि रिपोर्टिङ गरिरहेको नेपालको अग्रणी दैनिक कान्तिपुरका प्रकाशक सिरोहियालाई गृहमन्त्रीको निर्देशनमा पक्राउ गरिएको भन्ने हामीले भर्खरै थाहा पायौँ,’ अध्यक्ष हप्किन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीले नागरिकतासम्बन्धी छानबिन भने पनि सिरोहियालाई पक्राउ गर्नुको वास्तविक उद्देश्य के हो भन्ने आफूहरूको पनि प्रश्न रहेको अध्यक्ष हप्किन्सले बताएकी छन् । सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेर सम्पूर्ण प्रेस जगत्लाई तर्साउन खोजिएको हो कि भन्ने पत्रकार महासंघको आशंकालाई पनि एसपीजेले विज्ञप्तिमा दोहोर्याएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय संस्था द कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले समेत सिरोहिया पक्राउको घटनाप्रति गम्भीर चासो प्रकट गरेको छ । सीपीजेले समाचारको बदलास्वरूप देशको सबैभन्दा ठूलो मिडिया ग्रुपको नेतृत्व र कर्मचारीलाई हतोत्साही गर्ने र धम्क्याउने कार्य नगर्नसमेत भनेको छ । ‘