Advertisement

एमसिसी पास गर्न ओली र देउवा बिच सहमति

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुगेका हुन् ।

करिव एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई विदाई गर्न निस्किएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए । उनले भने, उहाँसँग कुराकानी भयो । हामी दुई जनाबीच कुराकानी राम्रो भयो ।

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निश्कासन गरेका सांसदहरुलाई सांसद पद नरहेको सूचना सभामुख अग्नीप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ ।

सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार (हिजो) बसेको बैठकले ओलीलाई मनाउने जिम्मा काँग्रेस सभपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दिएको थियो ।

प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौता संसदबाट पारित गराउनुपर्ने दबाब छ । तर, ती विषयहरुमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ ।

एमालेले आफ्नो पार्टीको संसदीय दलले निस्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवाद नै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन उनको निवास बालकोट पुगेका हुन् ।

छुटाउनुभयो कि ?

TOP