सगरमाथा आरोहण २०८२ सुरु : ४२१ आरोही चुचुरो चढ्ने तयारीमा

काठमाडौँ। ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्न गाह्रो भयो। खुम्बु आइसफल क्षेत्रमा ठूला ढुंगा र कालापत्थरले भर्‍याङ टाँग्न कठिन भयो,’ आधार शिविरबाट एक्सपिडिसन अगुवा लाक्पा शेर्पाले भने।

एटके एक्सपिडिसन कम्पनीका सात शेर्पाले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहण सुरु गरे। यसले २०८२ को वसन्त ऋतुको सगरमाथा आरोहणको ढोका खोल्यो। सोही कम्पनीका पाँच शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालमा डोरी टाँगेका थिए।

सगरमाथाको चुचुरोसम्म बाटो बनेपछि औपचारिक आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ। विभागका निर्देशक लीलाधर अवस्थीले भने, ‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही मौसम हेरेर चुचुरोतर्फ लाग्नेछन्।’ मौसम अनुकूल रहेकाले पहिलो ‘विन्डो’ मा धेरै आरोहण हुने अनुमान छ।

सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिने बताए। आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकाय र एक्सपिडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले बताए।

एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले अनुकूल मौसमका कारण मे ११ देखि १४ सम्म धेरै आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए। उनले भने, ‘मौसम अनुकूल छ। आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ। अहिले धेरै आरोही तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन्।’

सगरमाथाको तेस्रो र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थापनमा शेर्पा खटिएका छन्। आरोहीहरू अभ्यासमा व्यस्त छन्। आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवतजावत गरिरहेका छन्। मे १२ देखि १५ सम्मको ‘समिट विन्डो’ मा धेरै आरोहण हुने अनुमान छ। मे १६ र १७ मा हिमपात हुने पूर्वानुमान छ। त्यसअघि धेरै आरोही चुचुरो पुग्ने योजनाले भीड हुन सक्ने जनाइएको छ।

एटके कम्पनीका प्रबन्ध निर्देशक शेर्पाले भने, ‘यो पटक बाक्लो हिउँले डोरी टाँग्न गाह्रो भयो। पहिलो विन्डोमा धेरै आरोहण हुने अनुमान छ।’ अशोक लामाको नेतृत्वमा सात शेर्पा चुचुरोमा पुगे। टोलीमा छिरिङ पेम्बा, पेम नुर्बु, टासी, कर्मा ग्याल्जेन, टासी ग्याल्जेन र पासतेन्जी शेर्पा छन्। सगरमाथाको डोरी टाँग्न १६ शेर्पा खटिए पनि सात जना मात्र चुचुरोमा पुगे।

ल्होत्से र आमादब्लममा पनि बाक्लो हिउँले बाटो बनाउन कठिन भएको छ। जलवायु परिवर्तनले ढुंगा बढेकाले बाटो बनाउन समस्या भएको शेर्पाले बताए। खराब मौसमले दोस्रोदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लाग्यो। चौथो शिविरबाट दुई दिनमा शेर्पा चुचुरोमा पुगे।

‘बाटो राम्रो छ, मौसम सफा छ। सयौं आरोही तयारीमा छन्,’ शेर्पाले भने, ‘मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ। अर्को मौसम विन्डो मे १९ देखि २४ सम्म छ।’

यो याममा विश्वकीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा चढेर आफ्नो कीर्तिमान तोड्ने तयारीमा छन्। टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाउने योजनामा छन्। सानु शेर्पा विशेष पाहुनासहित आरोहणमा छन्। उनले तेस्रो पटक ८ हजार मिटरमाथिको हिमाल चढेर कीर्तिमान बनाउने योजना बनाएका छन्। भारतकी ज्येष्ठ नागरिक पनि आरोहणको तयारीमा छिन्। एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा ५५ आरोही छन्।

आधार शिविरमा माइनस २० डिग्री चिसो छ। चिसोको बेवास्ता गर्दै आरोही अभ्यासमा छन्। शिविरमा चहलपहल छ। शेर्पा तेस्रो र चौथो शिविर व्यवस्थापनमा छन्। आधा आरोही तेस्रो शिविरतिर पुगेका छन्।

मे १४ र १५ मा सगरमाथामा भीड हुन सक्ने प्रबन्ध निर्देशक शेर्पाले बताए। यसपटक चाँडो आरोहण खोलिएको उनको भनाइ छ। सन् २०१३ र २०१७ मा डोरी टाँगेका लाक्पा शेर्पाले जलवायु परिवर्तनले हिउँ पग्लिएर ढुंगा बढेको बताए।

खुम्बु आइसफलमा ढुंगा बढेकाले सगरमाथा प्रदूषण नियन्त्रण समितिले मे २९ मा भर्‍याङ उठाउने जनाएको छ। पर्यटन विभागबाट ७५ दिनको अनुमति लिएर आरोही गएका छन्। सगरमाथा आरोहण ४० दिनको हुन्छ। चुचुरो पुगेपछि दुई दिनमा आधार शिविर फर्किन्छन्। १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन्।

सभेने समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले अनुकूल मौसमले उत्साहजनक आरोहण हुने बताए। उनको कम्पनीबाट १०० भन्दा धेरै आरोही गएका छन्। एक्सपिडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँगेको छ। सगरमाथा प्रदूषण नियन्त्रण समितिले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो।

सगरमाथा चढ्न ४२१ लाई अनुमति
पर्यटन विभागको तथ्यांकअनुसार ४४ समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। एक-दुई समूह थपिन सक्ने अनुमान छ। गत वर्ष ४५ समूहका ४२१ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणबाट ६५ करोड रोयल्टी जम्मा भएको छ। सबै हिमालबाट ७८ करोड संकलन भएको छ। सिबी अधिकारी / रासस

छुटाउनुभयो कि ?

TOP