काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि खेलकुद क्षेत्रका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर, उक्त नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विद्यमान समस्या हटाउने र एजेन्डालाई स्थापित गर्ने खालको हुन सकेन।
यस क्रममा सरकारले विद्यालयस्तरका शिक्षक र विद्यार्थीहरूलाई खेलको तालिम दिने विषय नै सरकारको नीति तथा कार्यक्रमको नयाँ विषय हो। खेल क्षेत्रको विकासका लागि विद्यालयस्तरबाटै खेल तालिमको कार्यक्रम अगाडि बढाउने सरकारले उल्लेख गरेको छ।
अधिकांश पुराना कार्यक्रमले नै निरन्तरता पाएको छ। सरकारले यस पटक पनि खेलकुद क्षेत्रका लागि दीर्घकालीन लक्ष्यसहित नयाँ कार्यक्रम दिन सकेन।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्नुका साथै जीवननिर्वाह भत्ताको व्यवस्था गर्ने जस्ता आगामी वर्षको कार्यक्रममा समावेश भएका छन्। यस किसिमका कार्यक्रमले खेलाडीहरूको मनोबल उच्च गराउने छ।
साथै सरकारले खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ। काठमाडौंको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने यस पटकको नीति तथा कार्यक्रममा उल्लेख छ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न सरकारले अग्रसरता देखाएको छ। संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा उक्त निर्माणाधीन रंगशालाको काम अगाडि बढाइने कार्यक्रममा समावेश छ।
साथै नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरको त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने सरकारले उल्लेख गरेको छ। सरकारले देशको मौलिक तथा परम्परागत खेल प्रवर्धन गर्ने भएको छ।