काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्नुलाई वर्तमान कामू गभर्नेरको लाचारीपन भनेको छ।
संघका अध्यक्ष हरिकृष्ण भट्टराई र महासचिव संजिव बखेलले मंगलबार विज्ञप्ती जारी गरेर गभर्नरमा दाबी गर्ने वर्तमान कायममुकायम गभर्नर निलम तिम्सिना ढुंगानाले एउटा कर्मचारीले दिएको राजीनामा स्वीकृत गर्न नसक्नुलाई लाचारीपन भनेको हो।
वैशाख ५ गते राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशकबाट डा. गुणााकर भट्टले बुझाएको राजीनामा ढुंगानाले अझै स्वीकृत गरेकी छैनन्।
‘आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले लाचारिपन व्यक्त भइरहेको महसुस हामीलाई भएको छ,’ विज्ञप्तीमा भनिएको छ। यसले वर्तमान नेतृत्वको नैतिकता एवम् क्षमतामा नै प्रश्न उठेको संघको धारणा छ।
उसले त्यस्ता कार्य संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ३५ तथा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को समेत ठाडो उल्लंघन भएको बताएको छ।
संघले गभर्नरजस्तो मर्यादित तथा संवेदनशील पद राजनीतिक दाउपेचको रुपमा प्रयोग भएको र बैंकको वर्तमान नेतृत्वले उक्त दाउपेचलाई सघाएको टिप्पणी र समाचारहरूले राष्ट्र बैंकको गरिमामा आँच पुगेको बताएको छ।
‘यस अवस्थामा बैंकको वर्तमान नेतृत्वलाई यथाशीघ्र आफ्नो कर्तव्य निर्वाह गरी केन्द्रीय बैंकको गरिमालाई अक्षुण्ण राख्न यस संघ अनुरोध गर्दछ । साथै, यथाशीघ्र सक्षम व्यक्तिलाई गभर्नरको रुपमा नियुक्त गरी बैंकलाई नेतृत्व प्रदान गर्न नेपाल सरकार समक्ष जोडदार अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।
संघले केन्द्रीय बैंक जस्तो स्वायत्त संस्थामा गभर्नरको पदावधी सकिएको एक महिना बितिसक्दा समेत नयाँ गभर्नर नियुक्त नहुनु र कानूनको पालनामा सरकारको उदासिनता रहनुलाई लज्जास्पद विषय भनेको छ।
‘राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, विचौलियाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राख्न गभर्नर नियुक्ति जस्तो संवेदनशील विषयलाई षड्यन्त्रपूर्वक गरिएको ढिलासुस्तीप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ।
एक महिनादेखि गभर्नर नियुक्त हुन नसक्दा सामान्य निर्णयबाहेक नीतिगत निर्णय हुन नसकेको अवस्था र बजेट निर्माणको समयमा सरकारको आर्थिक सल्लाहकारको रूपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा केन्द्रीय बैंकको भूमिका प्रभावहीन देखिएको संघको भनाइ छ।
‘यस सन्दर्भमा विद्यमान चुनौतीहरुलाई सहज रुपमा सम्बोधन गर्न सक्ने सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरको रुपमा नियुक्ति गर्न हामी जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।
संघका पदाधिकारीले मंगलबार नै कामू गभर्नर ढुंगानालाई भेटेको थियो।
भेटमा ढुंगानाले आफू पूर्ण गभर्नर नभएका कारण कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत नगर्ने जबाफ संघका पदाधिकारीलाई दिएकी थिइन्।