काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न गैरआवासीय नेपाली संघलाई आग्रह गरेकी छन्।
शनिबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा बोल्दै परराष्ट्रमन्त्री राणाले एनआरएनए राजनीति गर्ने संस्था नभएको भन्दै संस्थाको पवित्र उद्देश्य पूरा गर्नका लागि एकताबद्ध भई अगाडि बढ्न आग्रह गरिन्।
एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशअनुसार भइरहेको एकता महाधिवेशनलाई सबै मिलेर सफल पार्नुपर्ने उनले बताइन्। परराष्ट्रमन्त्री राणाले सबै क्षेत्रमा राजनीति गरेरमात्रै देश नचल्ने भन्दै मुलुकको विकासका लागि सबै गैरआवासीय नेपालीको साथ चाहिने जिकिर गरिन्।
उनले नेपालमा रहेका प्रयाप्त स्रोत साधनलाई नयाँ प्रविधि, व्यवस्थापनमार्फत अघि बढाउन गैरआवासीय नेपालीहरुको भूमिका महत्त्वपूर्ण हुने धारणा राखिन्।
त्यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा.शेष घलेले संस्थालाई बलियो बनाएर अघि लैजानुपर्ने आवश्यकता रहेको भन्दै अहिलेको महाधिवेशन अवसर भएको बताए। संस्थामाथि कसैले आरोप प्रत्यारोप गर्ने नभइ यसलाई आफ्नो संस्थाका समयसापेक्ष रूपमा अघि बढाउनुपर्ने उनले बताए।
लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए)लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउन सर्वोच्चले परमादेश गरेपछि उच्चस्तरीय समिति बनाएर महाधिवेशन गरिएको हो । महाधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।