पानी पार्ने बादल सुदूरपश्चिमबाट पूर्वतिर सर्दै, सतर्कता अपनाउन मौसमविदको अनुरोध

काठमाडौं । देशका पश्चिमी भूभागमा पानी परिरहेको छ । पानी पार्ने प्रणाली सुदूरपश्चिम, कर्णाली प्रदेश हुँदै पूर्वतिर सरिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले पानी पार्ने बादल पश्चिमबाट लुम्बिनी प्रदेशतिर सरिरहेको जनाएको छ ।

‘मेघगर्जन/चट्याङ्ग सहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गरिरहेकाले अझै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा हुने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु होला,’ विभागले भनेको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यिनै प्रभावका कारण बादल लाग्ने र पानी पर्ने भइरहेको हो । यस्तो अवस्था अझै केही दिन रहीरहने सम्भावना रहेको मौसमविद बताउँछन् ।

मौसमविद प्रतिभा मानन्धरले तीन दिनसम्म बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको बताइन् । ‘पानी ठूलो होइन, हल्कादेखि छिटफुट खालको पर्छ, यस्तो सम्भावना तीनै दिनलाई छ,’ उनले भनिन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो पनि देशका धेरै ठाउँहरुमा बादल लाग्ने र हल्कादेखि छिटफुट पानी पर्ने सम्भावना छ ।

काठमाडौंमा पनि आज दिउँसो हल्का खालको वर्षा हुने सम्भावना रहेको मौसमविद मानन्धरले जानकारी दिइन् ।

छुटाउनुभयो कि ?

TOP