काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानासाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुक धेरै अघि बढिसकेकाले तानासाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जेमा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गरे । राजा हुने सपना कसैले देख्छ भने त्यो केवल सपना मात्रै हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे ।

राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरुलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट गरे ।