काठमाडौं । काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।

राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।

आजको एसईई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।

दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ ।

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति अनुसार प्रदर्शन र सभा गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ तोकिएको छ ।

दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने निश्चित छ । साथै यो प्रदर्शनमा अप्रिय घटना हुने हो कि भन्ने आशंकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा चासो समेत बढेको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासले ठूलो राजनीतिक प्रदर्शन हुन लागेको भन्दै सतर्क रहन सूचना जारी गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि विहीबार काठमाडौं उपत्यकाका प्रमुख दुई जिल्ला ललितपुर र काठमाडौंका प्रहरी प्रशासनका प्रमुखहरुलाई भेटेर सुरक्षा तयारीबारे चासो राखेको छ । साथै आयोगले सुरक्षा चुक हुन नदिन सचेत गराउँदै दुवै पक्षको प्रदर्शनलाई अनुगमन गर्न आफ्ना प्रतिनिधिहरु खटिने जानकारी पनि गराएको छ ।

प्रहरी प्रशासन भने जतिसुकै धेरै मानिसहरु भेला भए पनि सुरक्षा चुक हुन नदिने प्रयासमा जुटेको छ ।

२,५०० प्रहरी र १,७५० सशस्त्र प्रहरी तयारीमा

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी शुक्रबारका लागि खटाइने छ ।

आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् ।

सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।

यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार भोलि १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र १५ चैतमा हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।

प्रहरीको सहयोगीका रुपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ । यसका लागि सूचना संकलनको रुपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिने छ ।