१० सिट भएकाले प्रधानमन्त्री बन्न खोज्न न्यायोचित हुँदैनः शंखर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले जसमाका अध्यक्ष माधब कुमार नेपालतर्फ लक्षित गर्दै १० सिट भएका पार्र्टीले प्रधानमन्त्री बन्ने आकंक्षा राख्नु उचित नहुने बताएका छन् । एमाले जिल्ला कमिटी, ताप्लेजुङको १२औं अधिवेशनका लागि आएका महासचिव पोखरेलले मंगलबार बिहान पत्रकार सम्मेलनमा बोल्दै नेपालको राजनीतिमा १० सिट भएकाले प्रधानमन्त्री बन्न खोज्नु सान्दर्भिक नहुने बताएका हुन् ।

उनले १० सिट भएको दलले प्रधानमन्त्री माग्नु न्यायोचित हुने–नहुने सोच्नुपर्ने महासचिव पोखरेलले बताए । ‘समाजवादीका नेता म प्रधानमन्त्री हुन्छु भनेर कोही आत्तिरहेका छन् भनेर हिँड्दै हुनुहुन्छ । नेपालको राजनीतिमा १० सिट भएकाले प्रधानमन्त्री बन्न खोज्नु कत्तिको सान्दर्भिक हो त्यही पार्टीका सांसदले पनि मूल्यांकन गरेका होलान्,’ उनले भने ।

सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसमा देखापरेको विचलन दुःखद रहेको उनले बताए । एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामीले के भनेका छौं भने अहिलेको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता र राष्ट्रका हितका पक्षमा खास गरी पाँच दलीय नयाँ समीकरणले बनाएका नीति कार्यक्रमको पक्षमा दृढतापूर्वक काम गरुञ्जेलसम्म यो सरकारलाई निरन्तर रूपमा कायम राख्नु पर्दछ,’ उनले भने ।

त्यसैगरी महासचिव पोखरेलले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमा रहेका अरु सांसदले पनि विद्रोह गर्ने दाबी गरेका छन्। सरकार कसरी बदल्न सकिन्छ भनेर केही दलमा एक प्रकारको आतुरी देखिएको र सरकार परिवर्तनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका भन्दै त्यही षड्यन्त्रविरुद्ध सांसदहरू आफैंले विद्रोह गरेको महासचिव पोखरेको भनाइ छ ।

छुटाउनुभयो कि ?

TOP