काठमाडौं । इजरायलले गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको छ ।
हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरुको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको हो ।
इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्न आदेश दिइसकेको बताएका छन् । उनले भनेका छन्, ‘मैले गाजा क्षेत्रका बिजुली आपूर्ति तुरुन्तै बन्द गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको छु । हामी आफ्नो हातमा रहेका सबै उपाय प्रयोग गर्नेछौं, ताकि बन्धकहरूको रिहाइ होस् र गाजाबाट हमासको अन्त्य सुनिश्चित गर्न सकियोस् ।’
इजरायलले पानीको आपूर्ति पनि बन्द गर्ने विषयमा समेत विचार गरिरहेको बीबीसीले जनाएको छ ।
गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य आवश्यक वस्तुहरू बोकेका गाडीहरूको सडक बन्द गरिदिएको थियो ।
इजरायल हमासले युद्धविरामको पहिलो चरण विस्तार गर्न सहमति जनाओस् भन्ने चाहन्छ । तर, हमासले युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गरियोस् भन्ने चाहेको छ ।
हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमाथि एक्कासी हमला गरेर १० नेपालीसहित १२ सय जनाको ज्यान लिएपछि इजरायलले हमासलाई लक्षित गरी गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । त्यसपछि सुरु भएको भिषण युद्धको क्रममा ४६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएपछि सन् २०२५ को जनवरी १५ मा इजरायल–हमास युद्ध विराम सहमति भएको थियो । युद्धविरामको कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो ।
पहिलो चरणको युद्धविरामको क्रममा हमास र इजरायलले बन्धक बनाएकाहरुलाई मुक्त गरेका छन् । पहिलो चरणको युद्धविराम सन् २०२५ को १ मार्चबाट सकिएको छ ।