‘मैले पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ’

धानमन्त्री केपी शर्मा ओलीले आफूले सुरुङमार्ग, पानीजहाज र रेलको कुरा गर्दा आलोचना गर्नेहरूलाई समयले जवाफ दिएको बताएका छन्।

उनले जनकपुरमा रेल सञ्चालन भइसकेको र जलयात्राको सम्भावना समेत विकसित भइरहेको उल्लेख गर्दै देश विकासका लागि एमाले नेतृत्वको सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुङमार्ग, जलयात्रा र भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको भन्दै देउखुरीमा सुरुङमार्ग निर्माणको योजना अघि बढिरहेको जानकारी गराए।

“पहिले मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ। अब नारायणी नदीबाट जलयात्रा सुरु गर्न सकिन्छ, गंगासम्म लैजान सकिन्छ, त्यहाँबाट बङ्गालसम्म पुग्न सकिन्छ,” उनले भने।

उनले देशको समृद्धि र विकासका लागि ल्याइएका अध्यादेशहरू संसद्बाट पारित गरेरै छाड्ने पनि जिकिर गरे। ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको उल्लेख गरे।

सबै नेपालीलाई समान अवसर दिलाउने सोचका साथ सरकार अघि बढिरहेको उनको भनाइ थियो।

छुटाउनुभयो कि ?

TOP