काठमाडौं । संसद सचिवालयका अनुुसार आइबार प्रतिनिधि सभा बैठकमा उपस्थित भएर २२० जना सांसदले हाजिर गरेका छन् ।
तर, गणपुरक संख्या (कोरम) यकिन गर्दा भने जम्मा ६८ जना मात्रै भेटिए । संसद् सचिवालय स्रोतका अनुसार १ सय ५२ जना सांसदले हाजिर गरेर हिँडेका हुन् ।
परिणाममा प्रतिनिधिसभाको आइतबारको कार्यसूची नै प्रभावित भएको छ ।
गृहमन्त्री रमेश लेखकले नागरिकता ऐन संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो । तर, कोरम नपुगेका कारण यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।
संविधानतः कुनै पनि प्रस्ताव सभामा प्रस्तुत हुन एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । यससम्बन्धी व्यवस्था संविधानको धारा ९४ मा छ ।
जहाँ लेखिएको छ, ‘यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।’
२७५ सदस्यीय सभामा एक चौथाइ सांसद पुग्न ६९ सांसद चाहिन्छ । जो आइतबार गणपुरक संख्या यकिन गर्दा पुगेन ।
सभामुख घिमिरेले नागरिकता ऐन संशोधन विधेयकमाथिज विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)की सांसद निशा डाँगीले गणपुरक संख्या यकिन गर्न माग गरिन् ।
त्यसपछि तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६८ जना सांसद मात्रै उपस्थित थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा कोरमका लागि कम्तीमा ६९ सांसद चाहिनेमा ६८ जना मात्रै उपस्थित रहेको सुनाउँदै सभामुख घिमिरेले बैठक स्थगित गरिदिए ।
अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।