लेखनाथ । पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा घाइते बन्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उपचारका लागि काठमाडौं लगिएको छ ।
पौडेललाई पौने ३ बजेतिर सिम्रिक एअरको हेलिकोप्टरबाट राजधानी लगिएको हो । उहाँलाई कीर्तिपुरको बर्न हस्पिटलमा उपचारका लागि पठाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । सोही कार्यक्रममा घाइते हुनुभएका पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई पनि राजधानी लैजाने तयारी भएको छ ।
पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो सवा १ बजेतिर बेलुन पड्किँदा नगर प्रमुख आचार्यको गाला र टाउकोको केही भाग जलेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले जलेको छ ।
घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो। पोखरामा सामान्य उपचारपछि जलनको उपचारका लागि उहाँहरुलाई राजधानी लगिएको हो।