कावासोती । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले उत्पादकत्व बढाउन आवश्यकता भन्दा धेरै विषादी प्रयोग गर्दा समस्या सिर्जना हुने गरेको बताएको छन। खेती गरेपछि एकै पटक उत्पादनमा वृद्धि गराउन सके आम्दानी पनि धेरै हुने भन्दै विषादीको प्रयोग गर्नु उचित नहुने बताए।
शनिबार नवलपुरको कावासोती नगरपालिका–१५ गोडारमा कृषकले गरेको सामूहिक प्याज खेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले यस्तो बताएको हो।
उनले भने, “छिटो उत्पादन बढाउन खोजे पनि यसले दीर्घकालीन रूपमा आफैँलाई हानी गर्दछ। आम्दानी क्षणिक होला तर विभिन रोगको सिकार भई आफैँलाई शिथिल बनाउँछ।”
कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए। विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने मनस्थितिमा रहेको बताए।
जिल्लाको कावासोती, मध्यविन्दुलगायत विभिन्न स्थान गरेर २५ हेक्टरमा सामूहिक प्याज खेती सुरु गरिएको छ। जिल्लामा रहेका १५ वटा किसान समूहले प्याज खेतीका लागि सामूहिक नर्सरी निर्माण गरेर बिरुवा तयार पारेर सामूहिक खेती गरिएको छ। यसबाट २३४ किसान लाभान्वित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए ।