काठमाडौँ । कर्मचारीहरूलाई स्वेच्छिक राजीनामा दिन बाध्य पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई अदालतले रोकेको छ।
ट्रम्पले रिटायर्ड हुन लागेका, कार्यसम्पादनमा कमजोर भएका तथा डेमोक्र्याटिक पार्टीप्रति झुकाव भएका कर्मचारीलाई हटाउने योजनालाई अदालतले रोकेको हो।
राजीनामा गर्न नमान्ने कर्मचारीलाई निष्कासन गर्ने ट्रम्पको योजना थियो। कर्मचारीहरूलाई राजीनामाका लागि बिहीबार रातिसम्मको समय दिइएको थियो।
बिहीबार बोस्टनका सङ्घीय जिल्ला न्यायाधीश जर्ज ओ टुलले ट्रम्प प्रशासनको उक्त योजनलाई तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेका हुन्।
ट्रम्पको उक्त कदमप्रति ट्रेड युनियनहरूले अदालतमा मुद्दा दिएका थिए। समाचार संस्था रोयटर्सका अनुसार अदालतले प्रारम्भिक सुनुवाइमा कर्मचारीलाई जबरजस्ती राजीनामा गर्न लगाउने काम रोक्नका लागि ट्रम्प प्रशासनलाई आदेश दिएको छ।