काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएको छन ।
मङ्गलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।
उनले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको जानकारी दिए। उनले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए।
मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठुलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताए। क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको धारणा व्यक्त गरे।
‘‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै काम गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ ।,’’ मन्त्री पौडेलले भने, ‘‘आज पाठेघरको क्यान्सरबाट मेरा आमाहरु, मेरा दिदीहरु, मेरा समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा चार जनाको मृत्यु हुने तथ्याङ्क हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्याउन सबैलै पहल गर्न जरुरी छ ।’’
मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि आवश्यक स्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने उल्लेख गरे।