रामेछाप। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अबको आर्थिक समृद्धिको लडाइँ भएको बताएको छन ।
आइतबार एमाले रामेछापले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा ज्ञवालीले अधिकारको लडाइँ लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए।
उनले भने, “नेपालमा अधिकार प्राप्तिको लडाइँ सकियो । अबको लडाइँ आर्थिक समृद्धिको लडाइँ हो । अब राजनीतिक दल समृद्धिको बाटोमा अघि बढ्नुपर्छ । यसको लागि हामीले नयाँ सोच आवश्यक छ । अब हामीलाई समृद्धिको स्किल आवश्यक छ ।”
अहिले सामाजिक सञ्जालमार्फत सूचनाभन्दा बढी मिस इन्फरमेसन र डिस इन्फरमेसन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने काम गरेको बताए।
उनले भने “धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन् । यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ । अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ ।”
विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उनले बताए। यस्ता समस्याको समाधान वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको ज्ञवालीको भनाइ छ । २० वर्ष यता विश्वमा धेरै परिवर्तन भएको बताउँदै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न सक्नुपर्ने बताए।
दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने ज्ञवालीले बताउनुभयो । अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउछौँ भनेर आएका भन्दै ज्ञवालीले दर्शन र दृष्टिकोण नभएकाले समाज परिवर्तन गर्न नसक्ने बताए ।
एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएका बताउँदै ज्ञवालीले त्यसैले एमाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको बताए।
एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको उनले स्पष्ट पारे। त्यसका लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए।