गाउँ रित्तिदै जानु राष्ट्रका लागि सङ्कट हो : राष्ट्रपति पौडेल

लमजुङ, माघ १६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय सङ्कटबाट जोगाउन गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताउनुभएको छ।

बुधबार लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला उच्च माविको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गाउँको माटोमा कृषि क्रान्ति गरी कृषि पेसालाई थोरै मिहिनेत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुखी पेसामा रूपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रबन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग ल्याउनुपर्नेमा जोड दिनुभयो।

उहाँले राजनीतिक परिवर्तनपछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको बताउनुभयो।

“राजनीतिक परिवर्तनपछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ। गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार हो”, उहाँले भन्नुभयो,  “तर, आज म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिए त्यतित्यति गाउँ रित्तिँदैछन्। शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या बढ्नुको साटो घट्दो छ। ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ। उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ। पछिल्लो समय गाउँबाट सहर र सहरबाट विदेशिने शृङ्खला अटुट छ।”

छुटाउनुभयो कि ?

TOP