काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ।
यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् भने २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।